२०४६ सालको आन्दोलनपश्चात् स्थापित प्रजातन्त्रको अधारशीलाको रुपमा र शिक्षकको पेसागत अधिकार संरक्षण गर्ने महाअभियानबाट प्रेरित भई नेपाल शिक्षक सङ्घ (ने.शि.सङ्घ) को स्थापना विधिवत् रुपमा वि.सं. २०४७ वैशाख ३० गते भएको हो ।
वि.सं. २००७, वि.सं. २०१३, वि.सं. २०१५, वि.सं. २०१७, वि.सं. २०२१ मा काठमाडौंमा पटकपटक शिक्षकहरुको भेला, सभा र संस्था हुने र खोलिने गरिएका भए तापनि विभिन्न कारणले संस्थागत भइ फस्टाउन सकेका थिएनन् । वि.सं. २०३६ मा हेटौँडामा राष्ट्रिय शिक्षक संगठनको गठन भएको र ०४३ मा मावि र प्रावि संघ गठन भएको शिक्षकहरुको पेसागत आन्दोलनको ऐतिहासिक पृष्ठभूमि रहेको छ । वि.सं. २०४६ को आन्दोलन पश्चात मात्र वास्तविक रुपमा शिक्षकहरुको पेसागत अधिकार सुरक्षाका लागि पहल भएको देखिन्छ र यसमा नेपाल शिक्षक सङ्घको सदैव अहम् भूमिका रही आएको छ ।
शिक्षकहरुको पेसागत सम्मान, सुरक्षा र समग्र राष्ट्रको शैक्षिक उन्नयनका लागि लोकतन्त्र, मानवअधिकार, स्वतन्त्र न्यायपालिका, प्राज्ञिक स्वतन्त्रता र स्वच्छ पत्रकारिता अनिवार्य सर्त मानी स्थापित ने.शि. सङ्घ नेपाली शिक्षकहरुको पेसागत सुरक्षा, अधिकार र मर्यादाको अभिवृद्धि गर्न र शिक्षक र शिक्षाका सरोकारवालाहरुको आत्मसम्मान निर्माण गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नमा सदैव कटिबद्ध छ ।
करिब ८८००० सदस्य रहेको यस संस्थाको हालै ९औँ राष्ट्रिय महाधिवेशन (२०७९ चैत्र २८–३०, काठमाडौं) सम्पन्न भइसकेको छ । समयसापेक्ष शिक्षाको अवधारणा अनुरुप सम्पन्न ९औँ संघीय महाधिवेशनले मूल नारा, ‘गुणस्तरीय शिक्षाको आधार, मर्यादित शिक्षण पेसाको पुर्वाधार’ तय गरेको छ भने ९औँ संघीय अध्यक्षका रुपमा श्री सोमनाथ गिरी रहनुभएको छ ।
ने.शि. सङ्घ राष्ट्रिय रुपमा तत्कालीन ‘नेपाल शिक्षक युनियन’को संस्थापक सदस्य तथा युनियनको रुपान्तरित रुप ‘नेपाल शिक्षक महासंघ’को संस्थापक सदस्य हो । यस संस्था नेपाल ट्रेड युनियन कांग्रेस (नेपाल ट्रेड युनियन कांग्रेस अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ क्ष्त्ग्ऋ को आबद्ध संस्था हो) को संस्थापक सदस्य हो । यसैगरी अन्तर्राष्ट्रिय रुपमा पनि नेपाल शिक्षक सङ्घ शैक्षिक संस्थाहरुसँग आबद्ध रहँदै करिब १७० देशका ४०० शिक्षक संस्थाहरुको आबद्धता रहेको विश्व शिक्षक महासंघ (भ्क्ष्) र दक्षिण एसियाका ६ राष्ट्रका ८० लाख शिक्षकहरुको साझा संगठन सार्क शिक्षक महासंघ (क्त्ँ) को संस्थापक सदस्य समेत हो ।
नेपालको संविधान २०७२ लागू भएपश्चात् देशको संरचना संघ, प्रदेश र स्थानीय तहमा रुपान्तरण भएपछि ने.शि.सङ्घले २०७३ कात्तिक २४ र २५ गते विधान अधिवेशन सम्पन्न गरी संशोधित विधान बमोजिमको सांगठनिक संरचना निर्माण गर्ने कार्य सम्पन्न गरिसकेको छ । हालसम्म संशोधित विधान अनुरुप ७५३ स्थानीय तह, ७७ जिल्ला, ७ प्रदेशको अधिवेशन र संघीय महाधिवेशन (२०७४ चैत्र १–३)मा सम्पन्न भइसकेको छ ।
गुणस्तरीय शिक्षाको लागि आवश्यक पूर्वाधारहरु निर्माणमा ने.शि.सङघ सदैव प्रतिबद्ध रहने र शिक्षामा न्यूनतम २० प्रतिशत बजेट, शिक्षकको पेसागत मर्यादा, विद्यालयमा आवश्यक भौतिक पूर्वाधार, विद्यार्थीलाई जीवनोपयोगी शिक्षाजस्ता अतिआवश्यक पूर्वाधारहरुमा राज्यको ध्यान केन्द्रित रहनुपर्दछ भन्ने अवधारणाका साथ सामूहिक सौदाबाजी गर्ने संस्थाको रुपमा नेपाल शिक्षक सङ्घ अनवरत क्रियाशील छ ।