डा. हरिप्रसाद कँडेललाई पिपी प्रसाईं राष्ट्रिय उत्कृष्ट शिक्षक पुरस्कार, २०७६

नेपाल शिक्षक संघ जिल्ला कार्य समिति चितवनका अध्यक्ष तथा श्री भीमोदय माध्यमिक विद्यालय चितवनका शिक्षक डा. हरिप्रसाद कँडेललाई पिपी प्रसाईं फाउन्डेशनले ‘पिपी प्रसाईं राष्ट्रिय उत्कृष्ट शिक्षक पुरस्कार, २०७६’ प्रदान गरेको छ ।

फाउन्डेशनले शिक्षा र पर्यटन क्षेत्रमा विशिष्ट योगदान पुर्याउने सामुदायिक विद्यालयका शिक्षक तथा पर्यटन व्यवसायीलाई पुरस्कृत गरेको हो ।

बिहीबार राजधानीमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले डा.कँडेललाई पुरस्कार प्रदान गर्नुभएको हो । पुरस्कारको राशि एक लाख रुपैया रहेको छ ।

शैक्षिक र सांगठनिक गतिविधिमा सक्रिय डा. कँडेलले आफूलाई गरिएको सम्मानले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन थप प्रेरणा मिलेको बताउनु भयो ।

यसैगरी फाउन्डेशनले  ‘उत्कृष्ट शिक्षक पुरस्कार–२०७६’ पनि प्रदान गरेको छ । सो पुरस्कार प्राप्त गर्नेमा प्रदेश नं १ बाट श्री बाल सुबोधेनी आधारभूत विद्यालय मेचीनगर झापाका शिक्षक विश्व थापा, प्रदेश नं २ बाट श्री देउराली माध्यमिक विद्यालय महोत्तरीका शिक्षक केदारबहादुर कोइराला र प्रदेश नं ३ बाट ज्ञानोदय मावि बाफल कालीमाटीका शिक्षिका अन्जु लामा, गण्डकी प्रदेशबाट अमरसिंह माध्यमिक विद्यालय र केफ मावि कास्कीका शिक्षक केशवप्रसाद पराजुली, प्रदेश नं ५ बाट श्री सिद्धबाबा माध्यमिक विद्यालय गुल्मीका शिक्षक डोरविक्रम श्रीस, कर्णाली प्रदेशबाट श्री हिमज्योति आधारभूत विद्यालय डोल्पाका शिक्षक तुलबहादुर विष्ट र सुदूरपश्चिम प्रदेशबाट श्री महेन्द्रनगर नमूना माध्यमिक विद्यालय कञ्चनपुरका शिक्षक ललितसिंह साउद रहेका छन् । यो पुरस्कारको राशि जनही पचास हजार रुपैया रहेको छ । प्रतिष्ठानले पुरस्कृत शिक्षकले अध्ययन गराउने सबै विद्यालयलाई दस हजार रुपैया बराबरको शैक्षिक सामग्री प्रदान गरिएको जनाएको छ ।

२०५६ भदौ १९ गते भएको हवाई दुर्घटनामा निधन भएका प्रजापति प्रसाईंको शिक्षा र पर्यटनको विकास गर्ने सपनालाई मूर्त रुप दिन स्थापित फाउन्डेशनले शिक्षाको ज्योति प्रदान गर्ने शिक्षकलाई सम्मान र हौसला प्रदान गर्न तथा शिक्षण पेशामा आकर्षित गर्ने उद्देश्यले पुरस्कार प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष शिखर प्रसाईंले बताउनुभयो ।

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these