+977-4375298     info@ntanepal.org
nta.nta11@gmail.com

कोरोना भाइरसबाट सतर्क रहन नेपाल शिक्षक संघको अपिल

March 3, 2020

नेपाल शिक्षक संघले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना संक्रमणबाट जोगिन सबैमा अपिल गरेको छ । मंगलबार संघको संघीय कार्यालयमा संघीय अध्यक्ष राजेन्द्रराज पौडेलको अध्यक्षतामा बसेको उपलब्ध पदाधिकारीको बैठकले अन्तर्राष्ट्रिय रुपमा मानव जगतलाई नै आतंकित पार्दै तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसबाट नेपाल पनि उच्च जोखिममा रहेको भन्दै सतर्क रहन सबैमा आग्रह गरेको हो ।

विश्व स्वास्थ्य संगठनले सम्भावित संक्रमणको खतरामा नेपाल रहेको भन्ने निष्कर्षले नेपाल शिक्षक सङ्घलाई अत्यन्त संवेदनशील र गम्भीर बनाएको बैठकपश्चात विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, “विद्यार्थीहरुमार्फत अभिभावकहरु र समाजमा चेतना अभिवृद्धि गरी रोकथाम कार्यलाई बल पुर्याउन सकिने हुनाले सम्पूर्ण शिक्षक मित्रहरुले आफ्नो प्रत्येक कक्षाको केही समय विद्यार्थीहरुलाई कोरोना भाइरसको संक्रमणमा सूचित गर्नुहुन र उच्च सतर्कता अपनाउनु हुन अनुरोध गर्दै नेपाल सरकार स्वास्थ्य मन्त्रालय तथा सरोकारवाला सबैमा कोरोना भाइरसको सम्भावित संक्रमण हुन नदिन र भइहालेमा तत्काल उपचारको प्रबन्धमार्फत जीवनरक्षा गर्ने आवश्यक तयारी गर्नका लागि समेत अनुरोध गर्दछौँ ।”